नियम २९
मतदान गर्ने तरीका
(१) मतदाताले मतपत्र लिएपछि मतसङ्केत गर्ने गोप्य स्थानमा गई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि मतदान गर्दा मतपत्रमा आफूले रोजेको कुनै एक उम्मेदवारको लागि छुट्टयाईएको निर्वाचन चिन्ह भएको कोठामा र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि मतदान गर्दा आफूले रोजेको कुनै एक दलको लागि छुट्टयाइएको निर्वाचन चिन्ह भएको कोठामा आयोगले उपलब्ध गराएको स्वस्तिक ( ) चिन्ह लगाई मतसङ्केत गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतसङ्केत गरेपछि सो मतसङ्केत गरेको चिन्ह नदेखिने गरी मतपत्र पट्टयाई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि आयोगले तोकेको छुट्टाछुट्टै मतपेटिका भित्र खसाल्नु पर्नेछ ।
(३) मतसङ्केत गर्ने गोप्य स्थानमा एक पटकमा एकजना मतदातालाई मात्र प्रवेश गर्न दिइनेछ ।
(४) कुनै मतदाता मतसङ्केत गर्ने गोप्य स्थानमा मतपत्रमा मतसङ्केत गर्ने छाप लगाउने र मतपत्र पट्टयाउन लाग्ने समयभन्दा बढी समयसम्म बसेको छ भन्ने मतदान अधिकृतलाई लागेमा निजले सो गोप्य स्थानको निरीक्षण गर्न र त्यहाँ रहेको मतदातालाई बाहिर पठाउन सक्नेछ ।
(५) कुनै मतदाताले मतपत्र बुझी लिएपछि मतदान नगर्ने निश्चय गरेमा सो मतपत्र मतदान अधिकृतलाई फिर्ता दिनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम कसैले मतदान नगरी मतपत्र फिर्ता गरेमा मतदान अधिकृतले सोको अभिलेख राखी त्यस्तो मतपत्र छुट्टै खामबन्दी गरी राख्नु पर्नेछ ।